नेपाल सरकार
लगानी बोर्डको कार्यालय
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसर. नयाँ बानेश्वर, काठमाडौं ।
प्रेस विज्ञसि
मितिः २०८२/०२/१३
काठमाडौँ। सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा ५ बमोजिम गठित लगानी बोर्डको त्रिसट्टिऔं बैठक लगानी बोर्डका अध्यक्ष सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भयो।
आजको बैठकले नेपालमा रासायनिक मल उत्पादन कारखाना सम्बन्धमा पेश भएको अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन जानकारीमा लिँदै उक्त प्रतिवेदनको समीक्षा / पुनरावलोकन गरी उपयुक्त विकल्प बोर्डमा सिफारिस गर्न एक कार्यदल गठन गर्ने निर्णय गर्यो। बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्र परियोजनाको बिस्तृत अध्ययन, विकास तथा सञ्चालन-व्यवस्थापन सम्बन्धमा प्राप्त प्रस्तावलाई स्वीस च्यालेन्जको अवधारणा अनुरुप प्रतिष्पर्धात्मक प्रकृयामा लैजाने निर्णय गर्यो। साथै बैठकले विभिन्न मुलुकहरुसँग हालसम्म गरिएका दोहोरो कर उन्मुक्ति सम्झौता तथा लगानी प्रवर्द्धन सम्झौताहरुका सम्बन्धमा अध्ययन गरी थप मुलुकहरुसँग उक्त सम्झौता गर्ने बारेमा बोर्ड समक्ष प्रतिवेदन पेश गर्न एक कार्यदल गठन गर्ने निर्णय गर्यो।
त्यसैगरी, आजको बोर्ड बैठकबाट Deep Seabed Mining परियोजनाको सम्बन्धमा प्राप्त प्रस्तावउपर प्रचलित अन्तर्राष्ट्रिय कानून, राष्ट्रिय नीति तथा कानूनी व्यवस्था सहित आर्थिक तथा प्राविधिक पक्षको अध्ययन गरी बोर्डमा प्रतिवेदन पेश गर्न एक समिति गठन गर्ने निर्णय भयो। बोर्ड बैठकले नेपालमा ग्रीन हाइड्रोजन सम्बन्धी अध्ययन तथा उद्योग स्थापना सम्बन्धमा प्राप्त प्रस्ताव अनुरुप परियोजनाको सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डको कार्यालयलाई अख्तियारी दिने निर्णय गर्यो। त्यस्तै, लगानी बोर्डको कार्यालयमा प्राप्त Integrated Agrivoltaics with BESS Project (Up to 1000 MW) परियोजना सम्बन्धमा स्वीस च्यालेन्जको आधारमा प्रतिस्पर्धा गराई उक्त परियोजना अगाडि बढाउने निर्णय भयो।
बोर्ड बैठकले लगानी बोर्डको कार्यालयको काम कारवाहीलाई थप छिटो छरितो तथा प्रभावकारी ढङ्गले अघि बढाउन बोर्डमा रहेका केही अधिकार प्रमुख कार्यकारी अधिकृतलाई प्रत्यायोजन गर्ने निर्णय गर्यो। साथै, निर्माणाधीन अरुण-३ जलविद्युत परियोजनाको परियोजना विकास सम्झौताको प्रावधान अनुसार Project Review Panel (PRP) गठन गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गर्यो।
बैठकमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री श्री बद्रीप्रसाद पाण्डे, माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री श्री दिपक खड्का, माननीय वन तथा वातावरण मन्त्री श्री ऐन बहादुर शाही ठकुरी, राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, मुख्यसचिव श्री एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।
(प्रधुम्न प्रसाद उपाध्याय)
सहसचिव एवम् प्रवक्ता